कर्कट सक्रान्ति | लुतो फाल्ने दिन | दक्षिणायन आरम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

कर्कट सक्रान्ति | लुतो फाल्ने दिन | दक्षिणायन आरम्भ




कर्कट सक्रान्ति | लुतो फाल्ने दिन विशेष अडियो सामग्री

असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।

श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।

यसै हिसाबले पनि यस महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बागद्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिरहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरुको भीड लाग्ने गर्दछ ।

तरार्इमा यो महिनाभरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउञ्जेल खुट्टामा चप्पल समेत नलगार्इ, चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राकोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डाैको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँटघाट धाम लगायतको बिभिन्न शिवालयहरुमा काँवरहरूको ठूलो घूँइचो रहने गर्दछ ।

श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।

यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

श्रावणसम्ममा बारीका मकैहरु पनि ठूलै घोघा भइसकेका हुन्छन्, श्रावणको झरिमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाँउघरका हिलो गोरेटोमा प्याट् प्याट् चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिडेको वाल्यकालका यादहरु पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस !

लुतो फाल्ने दिन

श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत-जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गर्इ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।

दक्षिणायन आरम्भ
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई "उत्तरायण र दक्षिणायन" भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

दक्षिणायनको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

दक्षिणायनको बेला रातहरु लामो र दिनहरु छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिदैन। तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो नितो गरेर लिईएको व्रत एवं गरेको पुजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ।

दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरु पर्दछन् त्यसैकारण दक्षिणायनमा आकाशलाई बादलहरुले घेरेको पाइन्छ। व्रत एवं उपाशनाको लागि उत्तम मानिने यो समयमा सबैको भलो होस्।

------
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.