बैशाख, जेष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज संक्रान्ति । यस अर्थमा एक वर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई ‘सिंह संक्रान्ति’ पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिंह संक्रान्ति भनिएको हो ।
अब एकतमासको घाम अनि वर्षापछिको शीतलता अनि थप आद्रतासहितको गर्मी शुरु हुने तर्खरमा छ । अब घामको ताप र औसत शीतलताले दशैंको आगमनको संकेत दिनेछन् । विशेष निलो अनि सफा आकाश खुल्ने भएकाले गर्दा वर्षायामबाट आजित आँखाहरूले नयाँ अनि बद्लिँदो मौसमको फरक दृश्य र फरक दैनिकी महसुस गर्न पाउनेछन् ।
हरेक विहानका वातावरणले एकखाले चाडबाडको बेग्लै सुगन्ध छर्ने गर्छ । पारिला घामका रापहरू अनि घरि–घरि आकाश कालो–मैलो देखिनुका साथै धुमिल्य आकाशमुनि हरियालीयुक्त वातावरण अनि सफा चिप्लो बाटोयुक्त वातावरणको अनुभूति अबका केही महिनाका सुखद सङ्केत हुन् ।
साउनमा आँखा फुटेका गोरुले सधैँभरि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झैँ यो समयमा पर्याप्त पानी तथा हरियाली विशेषता हो । यो दिन भगवान विष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ । यस्ता पूजा अर्चनामा रङ्गीबिरङ्गी पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।
लाखौँ नेपाली मनहरूलाई जाँदाजाँदै यो वर्षालाई विदा गर्दै गर्दा अर्को वर्षको वर्षामा यस वर्ष भएका खाल्टाखुल्टी नहुन् । धुलोले आँखा नपोलोस् । अनि कहीँ–कतै ढल या खाल्डामा कोही परेर अप्रिय खबर सुन्न नपरोस् । घामपानीले साथ दिओस् ।
सूर्य चन्द्रले हामीलाई सदैव सही–मार्गमा निर्दिष्ट गरुन् । अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैं कायम होस् । शुभ–दिन ।
––––
हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार पारिएको आलेख ।
Liked by: