सोह्र श्राद्ध समाप्ति | औंसी श्राद्ध र पितृ विसर्जन | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

सोह्र श्राद्ध समाप्ति | औंसी श्राद्ध र पितृ विसर्जन





१६ दिनको पितृपक्षको समापन भएको छ । आजको दिनलाई सर्वपितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट शुरु भएको पितृपक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दू धर्मावम्बीहरूले पितृकर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।

श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ । आफन्त अनि पण्डितको आगमनसँगै कर्ताले पितृकर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेर्नुपर्छ । बिहानैदेखि नैवेद्य अनि अनेक प्रकारका शुद्ध खानेकुरा घरमा पकाइन्छ । अनि र श्राद्ध चलिरहँदा पण्डितकै निर्देशन अनुरूप घिऊ, पुष्प, अबिर–केसरी लगायतका पितृकर्मका आधारभूत श्राद्धका सामाग्री ठाउँमा लगिरहनु पर्छ ।

हिन्दू संस्कारमा श्राद्ध एकदमै महत्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको जेष्ठ पुत्रले गर्छन् । तथापि सर्वपितृ औंसीका दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।

पुत्रलाई मोक्षको बाटो भनी हिन्दूशास्त्रमा उल्लेख भएको आधारमा विभिन्न पक्षबाट यस कुरालाई नारी विरोधी र लैंगिक असमानतासित पनि जोडेर हेरिने गरिएको पनि पाइएको छ । तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी–बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।
सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिएको भएपनि नारीहरूलाई पनि उत्तिकै महत्व दिएको छ । भान्जा–भान्जी अनि चेलीबेटीको उपस्थितिविना श्राद्धकर्म पूर्ण हुन सक्दैन ।

पुत्र अनि पुत्री पितृका लागि समान छन् । आजभोलि पितृकर्ममा अनि काजक्रियामा छोरीहरूको समान सहभागिता र कर्ताकै रूपमा भूमिका सराहनीय छ । धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै ठाउँ दिएको छ ।

पिण्ड दिएपछि गौमुत्र अर्थात् गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्ध कर्मपश्चात् अब दसैँको औपचारिक उत्साह र उमंगको सञ्चार हुनेछ । पितृहरूको सम्झना अनि सम्मानका लागि यी १६ दिनहरू अत्यन्त महत्वपूर्ण हुन्छन् । चाडबाड अगावै पितृहरूप्रतिको यो समर्पण र सदभावले हाम्रो संस्कारलाई वास्तवमै धनी बनाएको छ ।

अर्कोतर्फ अब सर्वपितृ औँसीको भोलिपल्टबाट नवरात्रि शुरु हुँदैछ । सँगै शक्ति पिठहरूमा प्रातकालदेखि नै श्रद्धालु भक्तजनहरूको घुइंचो र मेला लाग्ने गर्छ । दसैँको तैयारी र किनमेल, लगाउने नयाँ लुगा अनि खसी–बोकाको तैयारी अनि खोजी शुरु भइसकेको होला ।
कपडा सिलाउने ठाउँमा नयाँ कपडा सिलाउने अनि कपडाको नाप लिने भ्याइनभ्याई होला । अबका बजारमा खसी–बोकाको माग अनि किनबेच बढ्दो क्रममा हुनेछ । भोलि अर्थात् घटस्थापनामा जमरा राख्ने ठाउँ र नवरात्रिभरि पूजा गरिने पूजास्थलको सरसफाई पनि गरिने बेला आएको छ ।

दसैँको तैयारीको शुरुवातका क्रममा अब घर वरिपरि सरसफाई गर्ने, घर बाहिर भएका परिवारका सदस्य अनि पढ्न बाहिर बसेका विद्यार्थीहरू उत्साहका साथ घर फर्किने तैयारी अनि गाडी या प्लेनको टिकटको खोजी कार्य पनि शुरु भइसकेको छ । यो उल्लासको समय हो । आशाको सञ्चार भएको समय हो । परिवारहरू भेला हुने समय हो । सँगै माया र सदभाव बढोस् ।

औँसी श्राद्ध र पितृ विसर्जन
सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्वपितृ मोक्ष औँसी भनिन्छ । यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।

पितृ मोक्ष औंसीका दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने लोक चलन छ ।

यस दिनमा श्राद्ध गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुनैसुकै तिथिमा आफन्तहरू बितेका भएपनि प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा गरिने श्राद्धलाई पितृ मोक्ष औंसीमा श्राद्ध गर्न सकिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औँसीमा गर्ने परम्परा छ ।

हिन्दू परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावश्या औंसीका दिन श्राद्ध गरिन्छ ।

पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्वपितृ मोक्ष औंसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । दसैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।

सोह्र श्राद्धको अन्तिम दिन सर्वपितृ मोक्ष औंसीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औंसीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान चाड बडादसैँको तयारीमा लाग्ने गर्छन् । ल है, हामी सबैलाई दशैंको शुभकामना, सर्वमङ्गलम् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.