भाद्र महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा व्रत लिएर यो दिनमा सूर्य देवताका नाममा समर्पण गर्ने चलन छ । यो तिथिलाई सूर्य षष्ठी भनिन्छ । मानवले पृथ्वीवाट देख्ने सबैभन्दा शक्तिशाली, चम्किलो र विशाल बस्तु नै सूर्य हो । चराचर जगतका पालनहार यिनै सूर्य देवताको अपरम्पार महिमा पुराण, गीतालगायत अन्य सबै ग्रन्थहरूमा छ । आज तिनै सूर्य देवताको नाममा व्रत लिएर सूर्य षष्ठी मनाइन्छ ।
सूर्यविना त यस जगतमा केही पनि सम्भव छैन । हरेक सिर्जनाका सर्जक यिनै देवताको संकल्पमा आज बिहानै नुवाई–धुवाई भक्तजनहरूले गायत्री–मन्त्र जप गर्ने र व्रत लिने चलन छ । यसरी आजको दिनमा व्रत लिएमा धनधान्य, सन्तान, फलिफाप लगायत अश्वमेघ यज्ञ बराबरकै फल प्राप्त हुने विश्वास सनातनदेखि गरिँदै आएको हो ।
कल्परुतग्रन्थमा उद्धृत भविष्य–पुराणको वचनमा समेत भनिएको छ कि भाद्रशुक्ल षष्ठीका दिन जसले दक्षिणापथमा विराजमान भगवान् स्कन्धको दर्शन गर्छ त्यो ब्रह्महत्या आदि पापबाट मुक्त हुन्छ ।
आजका दिनमा घर नजिकै कुनै जलाशयमा स्नान गर्ने र नुहाएपछि सात प्रकारको फल, चामल, तिल, दुबो, चन्दन आदिलाई पानीमा मिसाएर उदाउँदै गरेको सूर्यलाई अर्ध दिएर आराधना गरी शुद्ध घिऊको दियो बाल्ने चलन छ ।
त्यस्तै, जलाशय किनारमा नै कपूर, धूप, रातो फूल, दुबो आदिबाट भगवान सूर्यको पूजा गर्नुपर्छ । यसरी जाप गर्दा सूर्य मन्त्रको उच्चारण गर्न जरुरी रहन्छ । यस शक्तिशाली मन्त्रलाई १०८ पटक उच्चारण गर्ने, मन्त्रको उर्जालाई आत्मसात् गर्ने र सूर्यको प्रभावलाई साधुवाद अभिव्यक्त गर्ने जरुरी रहन्छ ।
सूर्य मन्त्र
‘ॐ घृणि सूर्याय नमः’
‘ॐ सूर्याय नमः’
सूर्यको किरणविना संसारमा कुनै पनि जीव अनि वनस्पति हुन्न थियो । प्राणीहरूमा शक्ति एवं प्रकाश उजागर सूर्यले नै गर्छ । सूर्यको उपासनाबाट शरीर स्वस्थ रहन्छ ।
आजको दिनको सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल ।
Liked by: