अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधि पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गरिन्छ ।
भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो, जहाँ भगवान् विष्णु स्वयंले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् । यो दिन शुद्ध चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुःखबाट उद्धार गर्छन् र यस एकादशीको कथा श्रवण मात्रले अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।
अजा एकादशी व्रतकथा
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए ।
सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए ।
राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो ।
सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: