वरुथिनी एकादशीको महत्व के हो ?
शास्त्रअनुसार भूमि दान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्त्वपूर्ण मानिन्छ भने तिल दान भन्दापनि सुन दानलाई महत्त्व दिइन्छ । सुन दान भन्दा अन्न दान र अन्न दान र कन्यादान भन्दा पनि अझ विशेष महत्त्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी अर्थात् वरुथिनी एकादशी हो । वरुथिनी एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको हो । कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता छ ।
कसरी बस्ने वरुथिनी एकादशीको व्रत ?
यस एकादशीको व्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ भन्ने मान्यता छ । दशमीकै दिन काँसको थालमा एक पटक मात्र भोजन गर्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ । यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास छ ।
सुयोग ढकाल
Liked by: