मोहिनी एकादशी, विश्व नर्स दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

मोहिनी एकादशी, विश्व नर्स दिवस





मोहिनी एकादशी किन भनिन्छ ?

वैशाख महिनाको शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महत्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ भन्ने विश्वास छ । सांसारिक मोहबाट छुटकारा पाइन्छ मान्यताअनुरूप यो वसन्त ऋतुको एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।

मोहिनी एकादशीको महत्त्व

वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्त्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ ।

अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवार्इँ गरेर भगवान् विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महत्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ ।

मोहिनी एकादशीको व्रत कथा

किंवदन्ती अनुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एक जना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एक जना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धन पाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धन पालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवा तास अनि वेश्या गमनमा उनी आशक्त थिए भने दुर्व्यसनमा उत्तिकै लालायित पनि ।

धन पालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भए पनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धन पालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कौडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धन पालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ ।

यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्सङको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइदियोस्, शुभकामना ।

विश्व नर्स दिवस




विश्व नर्स दिवसको पृष्ठभूमि


आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाँउदैछ ।

ए लेडी विथ ए ल्याम्प किन र कसलाई भनिएको हो ?

फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला । उति बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उन् लाई सम्मानका साथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।

रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढङ्गमा अझै सम्म सञ्चालनमा छ ।

त्यती बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सर सफाइका कुराहरूमा उत्ति ध्यान दिईदैन थियो भनेँ स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिगं पेसालाई ल्याएकी हुन् ।

फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेसालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको छन् ।

नेपालमा नर्सिङ को संक्षिप्त इतिहास

नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ, राणा कालको क्रममा चार जना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङको अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थितनै अत्यूक्तम लागेको हुनसक्छ ।

नर्सिङ पेसाको सबैभन्दा ठुलो पदवी चाहिँ फ्लोरेन्स नाईटएगंल मेडल लाई मानिन्छ, यसअर्थमा फ्लोरेन्स नाईटएगंल हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन् ।

नेपालमा पनि नर्स अध्ययन गर्ने अनि कार्य गर्ने पेसाकर्मी दिदिवहिनी हरुको सङ्ख्या बढ्दो छ, बिरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरूलाई हामीले कत्तिको आत्मसाथ गर्न सकेका छौ त ? विचार गर्न जरुरी छ ।

नाईटएंगलको बारेमा कविता

क्रिमीया युद्धमा एक जना घाइते सैनिकले नाईटएंगलको बारेमा कविता लेखेका थिए, आजको यस दिन विशेष सामग्रीको विट मार्न अघि त्यो कविता अनि त्यसको सरल नेपाली रूपान्तरण, केवल यहाँका लागि:

Lo! in that house of misery
A lady with a lamp I see
Pass through the glimmering gloom,
And flit from room to room

त्यस दर्दनाक र पिडा भरिएका घरभित्र
टुकी समातेकी एक जना महिला म देख्दथेँ
चित्कार भित्रका वेदना सुन्दै र माया बाँढदै
हरेक कोठा कोठा उनी सहृदय पुग्दथिन्

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.