श्री शङ्कराचार्य जयन्ती / रामानुजाचार्य जयन्ती | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

श्री शङ्कराचार्य जयन्ती / रामानुजाचार्य जयन्ती





शङ्कराचार्य को हुनुहुन्छ ?

शङ्कराचार्य भगवान् शिवका अवतार हुनुहुन्छ । संक्षेपमा भन्दा पृथ्वीमा जन्म भएका आजका सबैभन्दा सिद्ध पुरुषहरूको सूचीमा जगतगुरु शङ्कराचार्यको नाम अग्रणी स्थानमा आउँछ । । उहाँ केरलाको कालाडीमा जन्मनुभएको थियो। र वहाँको गुरुको नाम गोविन्द पद हो ।

करिब १५०० वर्षअघि उहाँको जन्म भएको बेला भारतमा हिन्दु धर्म लोप हुँदै गएको थियो र बौद्ध धर्मले तीव्र गतिमा आकार लिइरहेको थियो । उहाँकै कारणले हिन्दु धर्मले फेरि आफ्नो वैभव प्राप्त गर्‍यो र जगतगुरु शङ्कराचार्यको मार्गदर्शन अनुरूप नै सनातन दर्शनमा बौद्ध दर्शनलाई पनि समावेश गर्दै एउटा समावेशी दर्शनको सुरुवात भयो ।

वहाँले अद्वैत दर्शनको प्रचार गर्दै भारतीय उपमहाद्वीप भरि यात्रा गर्नुभएको थियो । वहाँका अनुसार सबै कुरा परम वा ब्रह्मको विस्तार थियो। जस्तै, निर्वाणशटकम्मा उहाँ भन्नुहुन्छ

"मनोबुद्ध्याहमकार चित्तनिरहम् न च श्रोत्र जिह्वे न च घराना नेत्रे "

जगतगुरु शङ्कराचार्य को योगदान

धर्म रक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् ।

वहाँकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्य अद्वैत वेदान्तका संस्थापक हुनुहुन्छ र श्री शङ्कराचार्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्त्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।

भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबिचमा हजारौँ वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौँ किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दीक्षा लिएको पाइन्छ ।

नर्मदा तटको ४ वर्षको बसाइँमा शङ्कराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम बिन्दु हासिल गरेको बताइन्छ । भारत वर्षका ४ कुनामा ४ वटा मठहरू स्थापना गरेर सनातन धर्मको संस्थागत रक्षार्थ शङ्कराचार्यले गरेको संरचना अझै कायम छ ।

भारत वर्षको लम्बाइ र चौडाइ हुने गरी शङ्कराचार्यले सबैजसो भू–भागमा गएर दीक्षा दिने र त्यहाँ भएका अन्य विद्धानसँग शास्त्रार्थ गर्ने बताइन्छ । यस क्रममा अन्य धर्म या दर्शनमा गएकाहरूलाई पनि सनातन धर्ममा फर्काउने पावन कार्य शङ्कराचार्यले नै गरेको इतिहास छ ।

शङ्कराचार्य एउटा असल कवि पनि हुनुहुन्छ । सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कविताहरू शङ्कराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शङ्कराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शङ्कराचार्य अमर रहुन् ।

शङ्कराचार्यको जन्म सम्बन्धी कथा

धार्मिक मान्यता अनुसार शङ्कराचार्यलाई आदी देव भगवान् शिव शङ्करका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार, शङ्कराचार्यका पिता शिव गुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरूका सन्तान भएका थिएनन् । शिव गुरुले सन्तान प्राप्तिको इच्छा पूरा गर्न श्रद्धापूर्वक भगवान् शिवको तपस्यामा लीन भए ।

उक्त तपस्याका प्रभावले भोले शङ्करले शिव गुरुलाई सपनामा दर्शन दिए । भगवान् शङ्करले वरदान माग भने, शिव गुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । तर भगवान् शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।

शिव गुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिँदै उक्त पुत्रका रूपमा स्वयं आफ्नो जन्म हुने बताइदिए । यसरी शिव गुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रूपमा शङ्करलाई जन्म दिइन् ।

तिनै शिवको अवतारका रूपमा जन्मिएका कारण वहाँलाई शङ्कराचार्य भनिएको थियो । शङ्कराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्व शास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरु शङ्कराचार्यका नामबाट प्रसिद्ध भए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान् हिन्दु दार्शनिक एवं धर्मगुरु शङ्कराचार्यको जन्म जयन्ती मनाइन्छ ।

शङ्कराचार्यको जन्म ईश पूर्व ७८८ मा भएको थियो भने मृत्यु ९२० मा भएको थियो । शङ्कराचार्य जयन्तीका अवसरमा मठहरूमा पूजाआजा गरिन्छ ।

वैदिक विद्वानहरूले वेद पदहरू वाचन गर्छन् । शोभा यात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरू आयोजना गरिन्छन् ।

रामानुजाचार्य जयन्ती



रामानुचार्य को हुन्?

शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णव धारका मार्गदर्शक पनि मानिन्छन् ।

रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तर मनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ ।

रामानुचार्यको योगदान

रामानुजाचार्यका गुरु यादव प्रकाश चाहिँ अदविता वेदान्तका अनुयायी थिए । स्मरण गरौँ, यस अदविता वेदान्त चाहिँ आदि गुरु शङ्कराचार्यले सुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरुसँग मतभेद भएपछि तामिल अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनि र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे ।

रामानुजाचार्यको ज्ञानको रिसले अन्य पुजारी र पण्डितहरूले धेरै पटक मार्ने प्रयत्न पनि गरे । कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुनियो । तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिए । यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् ।

विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ ।

रामानुजाचार्य जयन्तीको शुभकामना

––––
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.