इद उल जोहा /विश्व प्राथमिक उपचार दिवस | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

इद उल जोहा /विश्व प्राथमिक उपचार दिवस




यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका उद्गम स्थानमा पैसा पठाउने गर्दछन् । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सद्भाव शुभेच्छा अनि सहकार्य कायम रहोस, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीमा 'इद उल जोहा'को शुभकामना ।


इद उल जोहा इद उल जोहा'को शुभकामना

'ईद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो ।

आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समूदायहरूले यो समय अाफ्ना गैह्र मुस्लिम साथीभार्इहरूलार्इ डाँकेर मुस्लिम विशेषताले भरीएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् । वहूभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।

यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तूतिबाट खाली नहोस् भन्ने हो।

हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २।५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।

यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन "अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द" र यसको नेपाली अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्" भन्ने बुझिन्छ।

यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका सामिप्यता रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर ईद लाई केवल कुबानी अर्थात वलीसंग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात जीवन लिनु मात्र नभई जीवनको मुल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीहरूमा 'इद उल जोहा'को शुभकामना !

धर्मको जय होस्
अधर्मको नाश होस्
बिश्वको कल्याण् होस्
प्राणीम प्राण होस्
सबैको जय होस्

-----  
साथै अाज
विश्व प्राथमिक उपचार दिवस

 

आज विश्व प्राथमिक उपचार दिवस पनि हो । जीवनमा उतार-चढाव भइरहन्छ र हरेक कदमसंग दूर्घटनाको सम्भावना पनि उत्तिकै हुन्छ, घाउ चोटपटक जीवनमा भर्इ नै रहन्छ अनि ठूला दूर्घटनाका खबरहरु हामीले दैनिकजसो समाचारमा पढदै, देख्दै र सुन्दै पनि आएका छौं । यसरी अचानक भइपरी अाउने यस्ता साना ठूला दूर्घट्नाहरूबाट तत्काल अपनाइने साधारण उपचार विधि नै प्राथमिक उपचार हाे । कुनै दूर्घटना भइहालेमा स्वास्थ्यकर्मी सम्म पुगेर व्यवस्थित उपचार प्रक्रियामा पुग्नुअघि अर्थात् धेरै रक्तश्राव छ भने तत्काल त्यस्ता रक्तश्राव कसरी रोक्ने, हात खुट्टा भाँच्चिएमा तत्काल के कसरी भाँच्चिएका अंगको सुरक्षा र व्यवस्थापन कसरी गर्ने, डुबीरहेको कोहि छ र उसलार्इ उद्दार गर्न सफल भएमा तत्काल के गर्ने अथवा के नगर्ने भन्ने प्रक्रिया नै प्राथमिक उपचार हो ।

शहरको सुबिधा सम्पन्न भवन होस या गाउँका पाखाहरु होउन, दुर्घटनाको संभावना र जोखिमलाई तूलनात्मकरुपमा कमगर्न सकिएपनि न्यून अथवा शून्य भने गर्न सकिन्न । दूर्घटनाको हरेक सम्भावनालाई प्राथमिक उपचारको सहज उपलब्धता अनि मानव जीवनको जीवनप्रदायक प्रथम चरणका रुपमा मान्न सकिन्छ । चोटपटकबाट हुने प्रभाव र क्षति न्यूनिकरण र प्रारम्भिक जीवनरक्षाकालागि प्राथमिक उपचार अपरिहार्य छ ।

सेप्टेम्बर १० का दिन विश्वभरि प्राथमिक उपचार दिवस मनाइन्छ । प्राथमिक उपचारको जरुरी र मानव जीवनलाई दुर्घटना र चोटपटकबाट बचाउनकालागि यसको महत्वलाई आत्मसाथ गर्दै प्राथमिक उपचारकर्ताको तालिम पनि सबैलाई प्रदान गर्न एकदमै जरुरी छ । प्राथमिक उपचार सामग्रीको अनि आधारभूत संरचनाको सहज उपलब्धतामा मानव जीवनको रक्षा आधारित छ । दूर्घटनामा परेका मान्छेलाई थप जोखिमबाट बचाउन अनि निर्धारित सुविधा सम्पन्न अस्पतालसम्म पुग्नुअघि प्राथमिक उपचार जरुरी छ । प्राथमिक उपचार तपाइहामी जो कोहीले पनि गर्न सक्छौं । यसअर्थमा पनि प्राथमिक उपचारको जानकारी र तालिम हामीहरु सबैले लिनुपर्ने अावश्यक्ता बढ्दै गएको छ । दुर्घटनापछि हेर्ने रमिते भन्दा पनि घाइतेको पीडा कमगर्ने र प्राथमिक उपचार गर्दै अस्पताल लैजान सक्ने मान्छेको सहयोग जरुरी रहन्छ, मानव जीवन अमूल्य छ र हामीले जीवनको जोखिम र दूर्घटनाप्रतिको निरोधात्मक र उपचारात्मक दुवै कुराहरूमा ध्यान पूर्याउन जरुरी छ । हामी सबैको ध्यान जाओस् ।

प्रस्तुत सामाग्री हाम्रोपात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.