चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू-भागमा पनि इद मनाउने दिन फरक हुनसक्दछ, यदि यो दिन कहिले हो भनेर दुविधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामूदायीक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ र एकदिन अगाडि नै यस वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकीएको हुन्छ ।
आउनुहोस् ईदको यहि पेरिफेरिमा आज केहि कुरा गरौं, हाम्रो पात्रोमा ।
इस्लाम धर्मावलम्बीहरुको एक महान चाड 'इद उल फितर' पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब 'हिजाल' अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।
इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाकालागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक-फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको ईदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।
आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरु सामूहिक भेला हुनेगर्दछन् र सामूहिक रुपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ, रोचक कुरा त के छ भने इद का सम्पूर्ण खुशीयाली र शुभेच्छाहरुको साटासाट खुल्ला आकाशमुनी गर्ने गर्दछन् । बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुनेगर्दछ किनभने उनीहरुलाई आफूभन्दा ठूलाले बिभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिनेगर्दछन् जसलाई ईदको ईदि भनिन्छ जसमा ठूलाले आफू भन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनाै अथवा अधिकारनै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाँउमा त बालबालिकाहरुले विभिन्न रङ्गहरु र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज-सज्जा गर्ने गर्दछन् ।
ईदको दिनमा गरिने विशेष प्रकारको भजनलाई सलत भनिन्छ जसका दुई सकतहरु अर्थात भागहरु हुन्छन् । यी भजनहरु खुल्ला भजन गृह या ठाँउमा सामुहीक रुपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरु पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पवूर्ण छन भन्ने बुझिन्छ ।
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनैतिक दलहरुले औपचारीक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदिबहिनीहरुलाई ईद को शुभकामना दिइन्छ । समाज र समानतासंग इस्लाम धर्मको बिशेष निकटता छ, धनी र गरिब सबैले समान रुपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून भन्ने कुरामा इस्लामीक रितीहरु विशेष तवरले बनाइएको पाइन्छ ।
यस चाडले भातृत्व, शान्ति र शुभेच्छाहरुको आदान प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ र गरिब परिवारहरुले पनि सम्मानकासाथ इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरु आयोजना गर्ने गर्दछन् । भातृत्व र उत्साहको यो पर्वमा तपाईं हामी सबैलाई ईद उल फितरको शुभकामना ।
Liked by: