गौरा पर्व | बुधाष्टमी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गौरा पर्व | बुधाष्टमी व्रत




गौरा पर्व विशेष अडियो सामाग्री

गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।

नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको माैलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको पर्व हो, गौरापर्व ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा 'बिरुडा' धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा-आजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाईन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका वासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, ईष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।

राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ ।

गौरा पर्व सुदुरपश्चिम सँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वकारुपमा लिइन जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरुको मन आखिर एउटै त हो ।

त्यसैले त गीतकार ले गीत कोरिदिए
पश्चिम कोही पूर्व घर
हिमाल त एउटै हो
छरिएर बसे के भो ?
नेपाल त एउटै हो

मेची देखि महाकाली सम्मका नेपालीहरुलाई गौरा पर्वको शुभकामना ! खुब मज्जाले मनाउनुहोस्, जय होस् !!

बुधाष्टमी व्रत


कोरोनाको कारण घरभित्रै छौं, भौतिक रुपमा पर रहेपनि यस महामारी बिरुद्ध लड्न र मानवताको जर्गेनार्थ हाम्रो एैक्वद्धता थप मजवुत भएको छ । यस वर्षको बुधाष्टमी व्रतमा स्वागत छ, यस व्रतमा बिशेषत शिव पार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्यूपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरुले आफ्ना भावना र कामनाहरु राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । यस दिन बुध ग्रहलाई विशेष नैवेध अर्पण गरिन्छ र पूजा सकिएपछि मात्र यि नैवेधहरु लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ ।

यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ । बुद्ध अष्ठमी व्रतका महिमाहरु ब्रह्माण्ड पुराणमा पाइन्छ, बुध ग्रहको दोष भएका मान्छेहरुका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबैजनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.