किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाण्डौ पशुपतीको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रती किराँतहरुको अथाह श्रद्धाले यस समूदायलाई शिवप्रेमी समूदायका रुपमा पनि लिईन्छ ।
आज थोरै यर्जुवेदबाट कुरा उत्थान गर्न चित्त परेको छ, यर्जुुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र सँस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा ब्यक्तिहरु । यसअर्थमा यी शुरविर, वीराङ्गना, शिकारी, प्रकृतीप्रेमी अनि राम्रा मान्छेहरुको समूदाय किराँत समूदाय अनि संस्कृती एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरुले शासन गरेका कुराहरु त हामीले पढेकै हौं, काठमाडौमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरुले शासन गरेको प्रमाण छ ।
प्रथम किराँती राजा यलम्वर हुन भने अन्तीम राजा खिगुलाई मानिन्छ । किराँतहरुको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकासउन्मुख किराँतीहरुलाई लिच्छवी शाषकहरुले सन् १५८ मा विस्थापीत गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाईन्छ, धनुविद्या आर्जन गर्नकलागि अर्जुनले आफ्नो नामनै किराँता अर्जुना राखेकोे तथ्य महाभारत दिएको छ ।
प्राचीन कालको धनुविधा देखि आधूनिककालको यूद्धमा समेत नाम कहलिएका वीर विराङ्गना किराँत समूदाय अनि किराँत धर्मावलम्वीका रुपमा चिनिन्छ । किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाण्डौ पशुपतीको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रती किराँतहरुको अथाह श्रद्धाले यस समूदायलाई शिवप्रेमी समूदायका रुपमा पनि लिईन्छ ।
किराँत धर्म एउटा अत्यन्त ब्यवहारीक धर्म अनि सभ्यता हो । संसारभरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहसकालागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको बैशाख २४ गते किराँत समाज सुधार दिवसका रुपमा मनाउदै अाएका छन् ।
किराँत धर्मगुरु तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।
फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रुपमा स्विकार गरेकाछन् । ती १० बुँदा किराँती समूदायमा कायम रहेका कुरीति, कुसंस्कारहरुको अन्त्य गर्न कोशेढुंगो सावित भयो । उक्त बुँदाहरुमा सबैले शान्तिको बाटो हिड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रुपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरु थिए । अज्ञानतावश् कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो ।
उतिबेला किराँत समूदायमा ब्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ (सभा) डाँके । बिकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे ।
नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरुको घना वसोवासको क्षेत्रका रुपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बामा भएको टुप्पो नभएको वाँसा रुखहरु अन्तीम लिम्बु राजा वुद्धि कर्ण राय खेवागंले एकैफेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभावी तीर चलाएर वाँसको टुप्पाहरु छिनाएको भन्ने विश्वाश पनि छ ।
२००७ सालको प्रजातन्त्रको उदय पछी लिम्बुराजाहरुलाई दिईएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाँउछ त्यपछी लिम्बु हाँगहरु मुलधारको शासन ब्यवस्थामा नआएको पाईन्छ ।
यस समुदायका लिम्बुमात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समूदायलाई एउटै समूदाय मानिएतापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो । यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा (साम्जिक) मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रुपमा अस्विकार गरिएको छ । यसको संस्कार अर्थात मुन्धुम लिखित पनि छ । महागुरु फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ (सभा) ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ-गाउँमा मन्दिर तथा पाठशालाहरु बन्न थाले । बालबालिकाहरुलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो । छोरीचेलीको सोतरित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यहि सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
किराँती समूदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरुलाई आधार मानेर विश्वप्रसिद्ध कम्प्यूटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । यसका अलावा टेम्पल रन आदि थुप्रै अन्य प्राचीन संरचना देखाउने गेमहरुमा किराँती जीवनशैली र वहादुरतालाई उतारिएको छ है । नेपालको शान यस समूदायका सबैलाई उत्तरोत्तर प्रगतीको कामना ।
सम्पूर्ण किराँत दाजुभाई दिदिवहिनी, आमा वुवा, भाईवहिनीमा हार्दिक नमन अनि हामीसबैलाई शुभकामना, किराँत समाज सुधार दिवसको ।
---
अक्षय तृतीया
आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।
शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल ब्याख्या सातु खाने दिनका रुपमा रहेको छ । सातु अर्थात् चना, जाै जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारीएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणीक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिंड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरु बेग्ला बेग्लै भूटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीबाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकैपटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरु प्राय सबै अकुंरण गर्न सक्नेअन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरुको महिमालाई प्राचीनकाल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।
यी त भए सातुका कुराहरु, आजको दिनलाई अन्य धेरै कुराहरुले पनि सम्झना र सर्मपण लायक बनाएका छन् । आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिइन्छ, आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो भने महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ ।
पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईं सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।
अक्षय भन्ने वित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौं । आज अक्षय पूण्य प्राप्त गर्नका लागप वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरु दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तरपुस्ता मायाका लागि पनि अत्यन्त महत्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिब्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।
-----
परशुराम जयन्ती
भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत यूद्धका असाधारण योद्धाहरु भिष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरु हुन् भने परशुरामका साक्षात गुरुका रुपमा भने देवादिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बञ्चरो जस्तो हतियार बुझिन्छ । भगवान रामको त्यो रूपले बञ्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैंले धारण गरेको अमोघ परशु (बञ्चरो) उनलाई दिएका थिए । त्यहि अमोघ बञ्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र संकल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पुजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।
पौराणिक कथनहरु अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरु लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरन्जीवी अर्थात अमर थिए । । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरन्जीवी तिथि भनिन्छ ।
परशुरामलाई पितृवचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवद् गीतामा उल्लेख भएअनुसार संसारका सबैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्र थिए जो कालबाट समेत अपराजित थिए ।
कलाकौशल अनि भौतीक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारतवर्षका सम्पूर्ण प्राचीन गाँउ अनि नगरहरु यिनैको योजना र कला मुताबिक बनाईएका हुन् । उत्खननक्रममा समुन्द्र विचमा भेटिएको प्राचीन द्वारीका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानीक संरचनाले पनि प्राचीन कालदेखिनै भएको वैज्ञानीक विकासमा परशुरामको योगदानको ब्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरु मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामीसबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।
हाम्रो पात्रोकालागी सुयोग ढकाल
Liked by: