श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी मंसिर शुक्ल पक्षको एकादशीलाई भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । त्यहि भएर यस एकादशीलाई गीता जयन्तिका रुपमा पनि मनाइन्छ । एकादशी भन्नाले विशेष गरी भगवान बिष्णुको पूजा हो । आज बिष्णु प्रतिमा स्थापना गरी धूप, दीप, नैवेद्य चढाइन्छ । त्यसैगरी ब्राह्मण भोजन गराई दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने विश्वास छ । सवै पापहरुबाट मोक्ष प्राप्त हुने भएकोले यस एकादशीको ब्रत लिनु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ । पापबाट मोक्ष गराउने भएकोले नै यस एकादशीलाई 'मोक्षदा' भनिएको हो । मोक्षदा एकादशीको ब्रत बसेपछि पुर्वजहरुले सवै पापबाट मुक्ति पाई स्वर्गको बास पाउने धार्मिक मान्यता रहेको छ ।
पौराणिक कथन द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजाले राज्य गर्दथे । राजा वैखानसले एकपटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्दारका लागि आफुलाई अनुनय विनय गरेको देखे । यस्तो सपनाले वैखानस चिन्ताले ब्याकुल बने । उनले बिहानै उठि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा सबिस्तार सुनाए । त्यसपछि गुरु ब्राम्हणहरुले पर्वत नाम गरेका एकजना तपश्वि ऋषिमुनिलाई भेटे उद्दारको तरिका थाहा लाग्ने लगाए । वैखानसले पनि पर्वत मुनिकहाँ पुगि सवै बेलिबिस्तार सुनाए । पर्वत ऋषिले ध्यानदृष्टिले हेरि सवै जानी बुझि पूर्वजन्मको पापले गर्दा तपाँईका पिताले नरक भोग्नु परेको हो भनि वैखानसलाई बताइदिए । त्यसबाट मुक्तिका लागि सवै विधी पुरा गरी मंसिर शुक्ल एकादशी अर्थात मोक्षदा एकादशीको ब्रत गरेको खण्डमा नरक बासमा परेका पित्रीको उद्दार हुने कुरा पर्वतमूनिले बताइदिए । वैखानसले पनि पर्वत ऋषिले भने अनुसार मोक्षदा एकादशीको ब्रत बसि नरकमा फसेका आफ्ना बुबाको उद्दार गरे । त्यसैबेलादेखि यहि धार्मिक कथा अनुसार अहिले पनि भक्तालुहरु मोक्षदा एकादशीको ब्रत बस्ने गर्दछन् र पापमा फसेका पित्रीहरु उद्दार गर्ने गर्दछन् ।
आज गीता उपदेशको पुस्तक सहित श्रीकृष्ण र वेदव्यासको पनि भक्तिपूर्वक पूजा गरिन्छ । मोक्षदा एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमिकै दिन शुद्ध भई नियमपूर्वक जौको रोटी र मुँगको दाल बनाई एक पटक मात्रै भोजन गर्नु पर्दछ । त्यसैगरी एकादशीको ब्रत समाप्त गरी भोलिपल्ट द्वादशीका दिन बिहानै स्नान गरी एक छाक खाएर उपबास बस्नु पर्दछ । एकादशीका दिनमा भने भगवानको पूजा आराधना गरी रात्री समयमा गीता श्लोक गाउँदै जाग्राम बस्नु पर्दछ । गीताले अज्ञानता र अन्धकारबाट मुक्त गरी मानव जीवनलाई समृद्धि र सत्कर्म तर्फ लैजान्छ । यसो गर्नाले मानव जीवनमा विचारको श्रेष्ठता प्राप्त हुने विश्वास रहेको छ ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
गीता जयन्ती
आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा आजकै दिन भगवान श्रीकृष्णले अर्जुनलाई मानवतालाई नयाँ दिशा दिने गीताको भएको थियो। त्यहि भएर मोक्षदा एकादशीको दिनलाई गित जयन्तीको रुपमा पनि मनाइन्छ। समभाव, अन्याय, अत्याचार रहित समाजको दर्शन देखाउने र विश्वकै पुरानो ग्रन्थमा पर्ने गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । आजको दिन भगवान श्रीकृष्णले गीता उपदेश सुनाएर कुरुक्षेत्रमा मायाले बाँधिएका अर्जुनलाई जीवनको सार बताएका हुन्।
आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा सुनाएको त्यो उपदेश अहिले पनि संसारका सर्वश्रेष्ठ चेतनशील प्राणीले मनन गर्नुपर्ने थुप्रै विद्वानहरुको भनाइ रहेको छ। "आत्मा न जन्म लिन्छ न मर्छ", "जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ", "तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।" आदि जस्ता थुप्रै जीवन उपयोगी अर्तिहरु श्रीमद्भगवद गीतामा भेटिन्छन्। यहाँहरुले पनि आस्था रहे जीवनमा एकपटक गीता अवश्य पढ्नुहोला। भनिन्छ गीतामा जीवनका हरेक उल्झनहरुको हल भेटिन्छ।
Liked by: