पद्म पुराणमा सवै प्रकारका एकादशीको महत्वबारे विशेष रुपमा उल्लेख गरिएको पाइन्छ । त्यहि पद्म पुराणमा उल्लेख भए अनुसार माघ महिनाको कृष्ण पक्षको एकादशीलाई षटतिला एकादशी भनिन्छ । धार्मिक कार्यमा पवित्र वस्तुका रुपमा प्रयोग गरिने तिलको नाम जोडिएको यो एकादशीले पनि अन्य एकादशीहरु झैं छुट्टै महत्व बोकेको छ । षटतिला एकादशी ब्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले षटतिला भनिएको हो । 'षट' को अर्थ छ वटा र 'तिला' को अर्थ तिल- जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको ब्रत बस्नेले ब्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै बर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसैगरी अरु एकादशी ब्रत झैं श्रद्धापूर्वक षटतिला एकादशीको ब्रत बस्नाले सवै पापहरुको नष्ट हुने मान्यता रहेको छ ।
पौराणिक कथन अनुसार एकदिन नारदमूनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास बैकुण्ठ पुगे । त्यहाँ नारमूनिलाई बिष्णु भगवानले श्रद्धापुर्वक स्वागत गरे । नारदले सोहि मौकामा षटतिला एकादशी ब्रतका बारेमा बिष्णुसंग जिज्ञासा राखे । बिष्णुले पनि यस एकादशी ब्रत महिमाको सवै कथा वेलिबिस्तार सुनाईदिए । कथा अनुसार त्यतिबेला पृथ्वीलोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी बिष्णुप्रति धेरै श्रद्धाभक्ति गर्दथिन् । एकदिन ती ब्राम्हणीले बिष्णुको भक्ति स्वरुप एक महिना लामो ब्रत बसिन् । ब्रतको प्रभावले ब्राम्हणी सवै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । बिष्णुले आफ्नो भक्त सवै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन् गरे । त्यहि भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।
ति ब्राम्हणीले पनि भिक्षा स्वरुप माटोको डल्लो बिष्णुरुपि भिक्षुका हातमा राखिदिइन् । भिक्षु बिष्णु त्यहि माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ति ब्राम्हणी एकदिन परलोकधाम भई बिष्णुलोकमा पुगिन् । उनलाई बिष्णुलोकमा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकि ती ब्राम्हणीले पुन: बिष्णुको भक्ति गरिन् । बिष्णु प्रकट भए । ब्राम्हणीले आफु सवै धर्मपरायण भएर पनि किन खाली कुटि मिल्यो भनेर बिष्णु समक्ष जिज्ञासा राखिन् । बिष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिंदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताईदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर बिष्णुले त्यसको उपाय स्वरुप- देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यतिबेला मात्रै कुटिको ढोका खोल्नु कि जतिबेला उनीहरुले तिमीलाई षटतिला एकादशीको ब्रत विधी सुनाउँछन्, भनि बताईदिए ।
ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बताईदिएको विधि अनुसार उनले षटतिला एकादशीको ब्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरु प्राप्त भयो । बिष्णुले नारदलाई यसरी षटतिला एकादशी ब्रतको सवै विधि कथा बताईदिए । सोहि अनुसार षटतिला एकादशी ब्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा बैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई बिष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्री समयमा तिल हातमा लिएर १०८ पटक 'ॐ नमो भगवते बासुदेवाय स्वाह' भन्दै मन्त्रोचारण गरी अर्पण गर्ने गरिन्छ । त्यसैगरी बिष्णुलाई अर्पण गर्ने सामाग्रीहरुको अभाव भएमा एकसय वटा दाना सुपाडी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको ब्रतबाट शारीरिक शुद्धि तथा आरोग्यता समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: