महीनाको प्रथम दिनलाई संक्रान्ति भनिन्छ भने महीनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला संक्रान्ति अर्थात् सूर्य कन्या राशीबाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा संक्रान्तिहरु हुन्छन् र संक्रान्तिको दिनमा सूर्य एउटा राशीबाट अर्को राशीमा प्रवेश गर्दछ । आजको संक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस संक्रान्तिलाई मत्स्यपूराणमा अत्यन्त महत्वपूर्ण संक्रान्तिकारुपमा ब्याख्या गरिएको पाईन्छ, एक दिन अगाडिबाटै एक छाकमात्र खाएर तुला संक्रान्तिको व्रत बस्ने चलन पनि छ ।
यस दिन बसिने व्रतले चिताएको शुभफल दिने जनविश्वास रहेको छ । वैदिक सनातन् हिन्दु क्यालेन्डर अनुसार अाजदेखि सातौं महिना अर्थात कार्तिक शुरु भयो । यस विशेष प्रभावले खेतमा काट्न तयार अवस्थामा रहेका अन्न वालीहरु राम्रो ताैल भएर भित्रिउन र राम्रो हिसाबले कुनैपनि प्राकृतिक विपत्तिविनानै अन्नको भण्डारण गर्न सकियोस भनेर पूजाअर्चना गरिन्छ ।
विस्तारै विस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदैछ होला र दिन छोट्टिदैं गएर साँझहरु सिघ्र अाउन थालेका छन् । घरखेतमा धानका वालाहरु लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आउँदैछ जुन महिना धान काटेर दउनी गरेर अन्न भित्राउन भ्याइनभ्याइ हुन्छ ।
यसपटकको वालीनाली सप्रिएका होउन, भकारी भरेर अन्न भित्राउँदै किसानहरुमा हर्ष छाओस् । अषाढ श्रावणमा रोपाँई गरेका धानका बिउँहरुले अब पसिनाको मूल्य दिने समय नजिक आउँदैगर्दा सबैजनामा आशा र मुस्कानको उर्जा सञ्चार होस्, शुभकामना !
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।
Liked by: