इन्दिरा एकादशी | विश्व शिक्षक दिवस | विश्व मुस्कान दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

इन्दिरा एकादशी | विश्व शिक्षक दिवस | विश्व मुस्कान दिवस




विश्व शिक्षक दिवस बिशेष अडियो सामाग्री

पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औंसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औंसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ । असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्नेचलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ । हिन्दूपरम्परा अनुसार सोह्रश्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी ब्रत लिंदा समस्त पित्रीहरुको नर्कबाट उद्दार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ । 


पौराणिक कथन अनुसार सत्ययुगमा महिष्मति शहरमा इन्द्रसेन नामक एक प्रतापी राजाको राज्य थियो । ति राजा पुत्रपुत्री सहित धनसम्पतिले भरिपूर्ण र शत्रुहरुसंगअपराजित थिए । एकदिन इन्द्रसेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिकोआगमन भयो । नारदको आउनु भएपछि इन्द्रसेनले खुसी हुँदै आसन गराए । नारद पनि इन्द्रसेनको भक्तिले प्रसन्न भए । नारदले आफुले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्चचकित भए । नारदले त्यसको सविस्तार बताईदिए । इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको ब्रतलाई पुरा गर्न नसकि बिचैमा छाडेकाकारण यमलोकको बास भएको नारदले बताईदिए । नारदले महिष्पतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको ब्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताईदिए । नारद ऋषिले त्यति बताईदिएपछि सोहि अनुसार इन्द्रसेनले  आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको ब्रत बसी ब्रतको समापनमा ब्राम्हण पुरोहितहरुलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयंपनि पितृ धर्म प्राप्त गरि सुखशान्तिले राज्यचलाउन समक्ष भए ।यहि मान्यता अनुसार नै यस एकादशीकोब्रतपछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दिप सहितबिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको ब्रतका दिन नसुति ब्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यहि भएर मानिसहरु एकादशी ब्रतपछि दिनभर भजन किर्तन गरेर दिन विताउँछन् । 

विश्व शिक्षक दिवस

एउटा महान शिक्षकको आफ्ना विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो बसंसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।

विधालयमा पहिलो घण्टिमा हाजिरकापी लिएर रोल नम्बरका आधारमा हाजिर लिने शिक्षकहरुको आवाजपछी आफ्नो रोल नम्बरको पालोमा 'यस सर' अथवा 'यस मिस' या 'म्याडम' हामी सबैले भनेकै छौं । कोही एकजना साथी या रोल नम्बर गयल भएमा शिक्षकहरुले कारण खोतलेर, के भयो ? किन आएन ? भन्ने चिन्ता र आत्मियता विद्यार्थीप्रति देखाउने गर्दछन् र समस्यामा परेका विधार्थीहरुप्रति सदाशयताकासाथ चाँसो व्यक्त गर्दछन् । स्कूले जीवनका अनि विद्यार्थीपलका फोटाहरु छन भने नियालेर हेर्नुहोस्, ति शिक्षकका अनुहारहरु र वहाँहरूले तपाइको भविष्य प्रतिको चिन्ता गरेर गाली गरेको, माया गरेको सम्झना गर्नुहोस् त ! संभव भएसम्म वहाँहरुलाई भेटेर आफूले उनिहरुले सिकाएको शिक्षाको आधारमा गरेको प्रगतिका कथाहरु सुनाउनुहोस्, तपाईको प्रगतिकालागि मुक्तकण्ठले खुशी हुने निश्वार्थी पात्र शिक्षकहरू नै हुन् । ती कापीका पानाहरु, जसमाा तपाइले गरेका गल्तीहरु उनिहरुको कलमको मसीले सच्याइएका छन्, ति परीक्षाका पानाहरु जसमा तपाइले लेखेका उत्तरका आधारमा तपाइलाई अङ्क दिइएको छ । हेडसर देखि नेपाली, गणीत, विज्ञान, सामाजिक शिक्षा, जनसंख्या जस्ता ति तमाम विषयका विषयगत ज्ञानहरु शिक्षकहरुको सहजिकरण र निर्देशन वेगैर कहाँ संभव थियो र ?

आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालवालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिन अावश्यक छ जसले हामिलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए । 'क' बाट कछुवा देखि 'ज्ञ' बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebra सम्म सिकाए । त्यस्पश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरुसंग शिक्षा लिएका छौं, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरुलाई हार्दिक नमन् ।

कोही शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरेको कारण हामीलाई लठ्ठीले पिट्नुभएको होला, कक्षाकोठामा अनावश्यक बोलेको या झगडा गरेकोमा अथवा क्लास 'बङ्क' गरेर कक्षाकोठामा गयल भएकोमा हामीले वहाँहरुबाट सजाय पक्कै पनि पाएको हुनुपर्छ तर त्यतीबेलाका सजाय अहिले आएर हाँसो उठ्दो याद भइसकेको छ । वहाँहरुले जे गर्नुभयो सबै हाम्रा लागि नै गर्नुभएको हो । तर यसको अर्थ यो हैन की ज्ञानको नाममा कलिला नानीहरूलार्इ कठोर पीडा दिइयोस् । विभिन्न समाचारहरूमा समय समयमा सुन्नमा अाउने त्यस्ता सजायका कारण केटाकेटीले निर्मम यातना सहेका छन्, अाँखा फुटालिएका छन्, हाँत खुट्टा भाँच्चिएका छन् । कुनैपनि हालतमा यस्तो कार्यलार्इ निरूत्साहित गर्न विद्यालय, शिक्षक शिक्षिका, अभिभावक र सरोकारवालाहरूले गम्भिरताका साथ लिन जरूरी छ ।

तर केटाकेटी उमेरदेखि जागिरे अथवा व्यवसायीक उमेरसम्मको हाम्रो सफलताको श्रेय तिनै शिक्षक शिक्षिकालार्इ जान्छ । कहिले नाटक गरेर त कहिले चित्र बनाएर हामीलाई पढाउनुभयो र आज हामी जे छौं त्यस्मा वहाँहरुको अतूलनिय देन छ । वर्णमाला नै उक्काउन नजान्ने एउटा बालक विद्यालय छिर्छ र विस्तारै वर्णमाला उक्काउँदै, बाह्रखरी सिक्दै विस्तारै उ कुनै विश्वविधालयबाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ । शिक्षकहरुबिना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावी पुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सीपको माध्यमले तठस्त र स्वतन्त्र रुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुबाट हामीले धेरै कुराहरु पाएका छौं, हामीलाई चाहिएको बेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धि गरिदिनुभएको छ, समस्या परेको बेलामा अतिरिक्त सहयोग पाएका छौं, अनुशासनको अभ्यासहरु अनि चाहिएको समयमा एउटा सहयोगी उपस्थिती नै शिक्षकहरू हुन् ।

जसरी फलामलाई तताएर अनि त्यसलाई तातो छँदै अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सधैं वालीनालीलाई एकै प्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विद्यार्थीलाई फरक फरक तरिका प्रयोग गर्नुपर्दछ । हामी सबैको कुनैपनि कुरा बुझ्ने आ-आफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन् । हामीमध्ये कतिपय विद्यार्थी हौं या शिक्षकनै हौं, एउटा असल विद्यार्थी र असल शिक्षक हुने प्रेरणा हामीबाट नहटोस्, सदियाैंसम्म यो सम्मानको संस्कार बसिरहोस् ।

विश्व मुस्कान दिवस


 


तपाइँ हामीमा के चाही यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ। धेरै सोच्नै पर्दैन , यो चिज हाम्रो मुस्कान हो , कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान। मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउछ र सबैलाई आफुतर्फ आकर्षित गर्छ।

एउटा ढङ्गको मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्ममनन् गर्न वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ।

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो। त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ। सन् २००१ मा हार्वे बलको निधन भयो , त्यसबेला देखि उसको सम्झनामा बनेको "विश्व हार्वे बल मुस्कान फाउण्डेसन"ले आजको दिनमा थुप्रै ठाउमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। यस फाउण्डेसनको नारा भने "संसारलाई मुस्कानले सुधार गर्नुहोस्।" भन्ने रहेको छ।

अहिले प्रतिष्पर्धाको समयमा धेरै मानिसहरुले जीवनमा अगाडी बढ्न यो हद सम्म मेहेनत गर्ने गर्दछन कि उनीहरुले एउटा मिठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन। तर जीवनको एउटा महत्वपूर्ण कार्य भनेकै आफु मुस्कुराउनु र अरुलाई मुस्काउन सिकाउनु र प्रोत्साहन गर्नु हो। हसमुख मानिसहरु सजिलै सबैको मनमा बस्ने गर्दछन।

सबैलाई विश्व मुस्कान दिवासको शुभकामना। सँधै मुस्कुराएर, खुसी हुनुहोस्!
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.