इद उल जोहा | अन्तर्राष्ट्रिय युवा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

इद उल जोहा | अन्तर्राष्ट्रिय युवा दिवस





'ईद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ । 

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो ।

आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समूदायहरूले यो समय अाफ्ना गैह्र मुस्लिम साथीभार्इहरूलार्इ डाँकेर मुस्लिम विशेषताले भरीएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् । वहूभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।

यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तूतिबाट खाली नहोस् भन्ने हो।

हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २।५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।

यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन "अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द" र यसको नेपाली अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्" भन्ने बुझिन्छ।

यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका सामिप्यता रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर ईद लाई केवल कुबानी अर्थात वलीसंग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात जीवन लिनु मात्र नभई जीवनको मुल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीहरूमा 'इद उल जोहा'को शुभकामना !

धर्मको जय होस्
अधर्मको नाश होस्
बिश्वको कल्याण् होस्
प्राणीम प्राण होस्
सबैको जय होस्

अन्तर्राष्ट्रिय युवा दिवस


 


अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलार्इ सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।

युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ-आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनकालागि नयाँ सोंच, उर्जा, चेतना, माैलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसकालागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनैपनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्दछन् । इतिहास साक्षी छ, युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।

नेपाली गाउँहरुमा आजभोली पहिलेजस्तो युवाहरुको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरु गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन-झन बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरु, विकासका लहरहरू र उर्जायूक्त दिवसहरु आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायूक्त क्षेत्रहरूमा अझै अँटाउन सकेको छैन, हाम्रा युवाहरु मुख्यतः खाडि, कोरीया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे-हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेशण 'रेमिट्यान्स'को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मिठा खाना अनि महँगा टिभी, मोबाइलहरु हात हातमा देखिएतापनि यसरी सधैं लाहूरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।

दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनमा आश्रीत परिवारका आशुँको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरु गहना हुन भने देशको सम्पतिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हावी भइरहने पारम्परीक चिन्तनलार्इ चिर्नकालागि भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक्ता छ । पुल-पुलेसा, बाटो-घाटो अनि विभिन्न पुनरर्निर्माण तथा विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरुको भुमिका अपरिहार्य छ, 'हे युवा जय युवा' ।

"नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोंच राख्दा युवाहरुको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ र यस एतिहासिक विन्दुमा म 'वान कि मूनको सम्बोधन' संसारका युवाहरुसंगै नेपाली युवाहरूलाई वहूआयामिक विकासका निमित्त मागहरु राखेर आजको आवश्यक्तालाई सम्बोधन गरिदिन आग्रह गर्दछु ।"

वान कि मून
संयूक्त राष्ट्र संघ पुर्व महासचिव


यस अर्थमा नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरिंदै अनि ज्ञापन-पत्र र घोषणा-पत्रहरु मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरुले आफ्ना माग र आवश्यक्ताहरुलाई सरकार र सरोकारवालाहरु समक्ष लैजान जागरुक र तदारुक हुन जरुरी छ, स्वरोजगार ऋृण र सीपमुलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरुको जोडदार आवाज उठ्न जरुरी छ ।

अर्कोतर्फ सुशासन, पारदर्शिता र विधीको शासनकालागि युवाहरुको खबरदारी सदासर्वदा अावश्यक रहन्छ, जहाँ अावाज कमजोर भयो बुझेहुन्छ विकास ठप्प भयो, परिवर्तन ठप्प भयो । यस कारण पनि परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त छ, यूगान्तकारी परिवर्तन र बिकासको अभिभारा नेपाली युवाहरुको कुशल काँधमा छ । जय होस् 

हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.