मलमास शुरु | मत्स्यनारायण मेला | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मलमास शुरु | मत्स्यनारायण मेला




मलमास शुरु / मत्स्यनारायण मेला विशेष अडियो सामाग्री

आजबाट मलमास शुरु भयो है, ल आउनुहोस् आज मलमासका बारेमा कुरा गरौं हाम्रो पात्रोमा । हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौं १२ महिनाको १ बर्ष हुन्छ । सूर्यको गति हनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।

यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक बर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक बर्ष हुन्छ। यसरी प्रत्यक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ बर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ । यो त सामान्य बुझाई भयो, अब ज्योतिषशास्त्रको परिभाषा तर्फ लागौं। ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ति पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य सक्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ। अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।

यसरी सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा बर्ष मिलान गर्न अधिकमास र क्षयमासको चलन ठाँउ अनुसार फरक फरक हुन सक्दछ तथापी अधिकमास भने अधिक ३३ दिनलाई हरेक ३ बर्षम समायोजन गर्ने चलन हो ।
सौर्यमास जस्तो चन्द्रमास को मापन ठोस हुँदैन, तिथीमा आधारित हुने भएकाले यो चन्द्रमास गतिमा निश्चित हुँदैन् । यहि नियम अनुसार अधिकमास या महिना बृद्धि हुने गर्दछ, अधिकमास खासै यहि महिना हुन्छ भन्ने हुँदैन् । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

लीप इयर भने निश्चित समयमा पर्दछ भने अधिकमासको भने समय यसै महिना भन्न सकिँदैन् । अधिकमासलाई पुरुषोक्तम मास पनि भनिन्छ, यस मासको अधिपत्य भगवान सूर्यले ग्रहण नगरेको तसर्थ भगवान पुरुषोत्तम स्वयमले अधिपत्य स्वीकार गरेको किवंदन्ती छ । यस मासमा भगवान नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरु सामान्यतया चलेपनि बिवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने पुरुषेत्तम मासमा गरिने गरिन्न । मलमासमा पतिपत्नी बिवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारीक समबन्ध पीरोल्ने भनी मुर्हुतमार्तण्डीका र मुर्हुतचिन्तामणी लगायतका पुस्तकमा पाइएता पनि परम्परागत वैदिक परम्पराका प्राचिन ग्रन्थहरुमा भने यस्ता कुराहरु पाँइदैन् । अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभुक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ ।

बिसं २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका छन् । नेपाल पञ्चा‌ङ्ग निर्णायक समितिको स्वीकृति लिएर छापिएका पात्रोहरूका अनुसार २०७५ साल जेठमा मलमास परेको हो ।विजयादशमी कात्तिक २ गते परेको छ। नवरात्र भने असोज २४ गते सुरु हुने छ अर्थात् सो दिन घटस्थापना गरिने छ। फूलपाती असोज ३०, महाष्टमी ३१ र महाानवमी कात्तिक १ गते पर्ने पञ्चा‌ङ्गहरूले उल्लेख गरेका छन् । यस्तै तिहारको लक्ष्मीपूजा कत्तिक २१ गते बुधबार परेको छ। २२ मा गोवर्धन र गाइपूजा, २३ गते भाइटीटा ९भ्रातृद्वितीया० परेको छ मिथिलाञ्चलवासीको महत्त्वपूर्ण पर्व छठ ९सूर्यषष्ठी० कात्तिक २७ गते परेको छ ।अधिकमासलाई वर्जित भन्दा पनि अनुशासनको महिना मानिनुपर्दछ। यस महिना जगतमा पूज्य एवं वन्दनीय छ, यस महिना मानवता अनि पुण्यका कार्य गर्नाले पुण्य मिल्दछ । यस महिनामा श्रीमद् भागवतको सप्ताह महापुराण या कथा श्रवण गर्नु फाईदाजनक मानिन्छ । यस वर्षको मलमास सबैलाई फलिफाप होस्, सबैको जय होस्, मंगल होस् ।

-----
मत्स्यनारायण मेला
काठमाडौवाट झन्डै ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला शुरु भएको छ । मलमासको अवधिभर यस मेलामा परपर वाट हजारौं लाखौं भक्तजनहरु दर्शनार्थ आउने गर्दछन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा / पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।

विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ।

मत्स्य अवतार
प्राचिन कालमा सत्यव्रत नाम गरेका राजा ले नदिमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ विन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका अनि त्यस्मा उक्त माछा नअटाएको एवं रितले तलाउ अनि समुन्द्र सम्म राख्दा माछाको आकार बढ्दै गएको बताइन्छ ।

राजाले भगवान विष्णुको अवतार चालपाएर मत्स्य अवतार को पूजा गरेको अनि पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो नाँउमा बिउबिजन सहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो।

मत्स्य नारायणको अपरम्पार गुणगान केवल ग्रन्थ अनि इतिहासमा मात्र नभई वास्तविक जीवनमा पनि उत्तिकै छ । जलमा बस्ने माछा लगायतका सम्पूर्ण प्राणी अनि जलाशय स्वयमको पनि रक्षा अनि सरसफाई यस मेलाले अनि मत्स्य नारायणको कथाले उद्घोष गर्दछ । भगवान विष्णु आफ्नो प्रार्थमिक अवतार मत्स्य अवतारका रुपमा यस लोकमा सदैव अवतिर्ण भइरहुन्, फुर्सत निकालेर मत्स्य नारायणको यो ३ बर्षे मेला भर्न जानु होला । शुभकामना !

---
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.