नागरिक उड्ययन दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नागरिक उड्ययन दिवस



आज डिसेम्बर ७ तारिख । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) स्थापनाको स्मरणमा यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । आइकाओ हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो । यो दिवस सन् १९९४ देखि आइकाओ दिवसका रुपमा मनाइदै आएको छ । आइकाओमा नेपाल सहित करीव २ सय सदस्य राष्ट्रहरु छन् । यो दिवस मनाउनुको अर्को उदेश्य भनेको हवाई यात्रालाई सुरक्षित र मर्यादित बनाउनु तथा हवाइ यात्राको पहुँच विस्तारका लागि सवैले भूमिका निर्वाह गरुन भन्ने पनि हो ।

यस दिवसका अवसरमा हवाई प्रदर्शनी, पुष्पवृष्टि, र्‍याली जस्ता गतिविधिहरु गरिंदै आएकाछन् । नेपाल पर्यटकीय हवाई उडानका लागि उत्कृष्ठ गन्तव्य मानिन्छ । हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम सहित एक दर्जन निजी कम्पनिका साना ठुला बिमानहरुले बाह्य तथा आन्तरिक उडान गर्दै आएकाछन् ।

उत्पत्तिका एकादशी

पञ्चाङ्ग अनुसार एघारौं तिथिलाई एकादशी भनिन्छ भने एकादशी पनि महिनामा दुई पटक आउँदछ । यसै अनुसार मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई उत्पतिका एकादशी भनिन्छ । यस दिन एकादशीको उत्पति भएको हुनाले उत्पतिका एकादशी नामाकरण गरिएको हो । सवै एकादशी मध्ये यो पहिलो भएको हुनाले एकादशीको ब्रत लिने व्यक्तिहरुले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको प्रारम्भ गर्नु पर्दछ । पद्मपुराणमा बताइएअनुसार सत्ययुगमा मुर नाम गरेको भयंकर हिंस्रक दानवले देवराज इन्द्रलाई युद्धमा पराजित गरेको थियो । मुरले जव इन्द्रको राज्य स्वर्गमाथि नै आफ्नो आधिपत्य जमायो, तव स्वर्गमा रहेका सवै देवदेवताहरु शरणका लागि कैलास पर्वतमा सुस्ताएका महादेवकहाँ पुगे । महादेवले समस्त देवगणलाई देखेपछि सवै बृतान्त बुझि सवैका साथ लागि मुर रहेको क्षीर सागरतर्फ प्रस्थान गर्नुभयो । त्यहाँ शेष नागासनमा लीन भएका भगवान विष्णुलाई इन्द्रले स्तुतिगान गरेपछि देवताहरूको अनुरोधमा विष्णुले अत्याचारी मुर राक्षसलाई आक्रमण गर्नुभयो । युद्ध चल्दै जाँदा असंख्य असुरहरु मारेर थाकेका भगवान विष्णु बद्रिकाश्रम गई बाह्र योजन लामो सिंहावति गुफाभित्र पसेर सुत्नुभयो । त्यहि बखत दानव मुरले भगवान विष्णुमाथि आक्रमण गर्न गुफामा प्रवेश गर्‍यो । मुर गुफामा प्रवेश गर्ने वितिक्कै विष्णुको शरीरबाट दिव्य अस्त्रयुक्त अति रूपवति कन्या उत्पन्न भईन । ती दिव्य कन्याले हुंकारयुक्त नजरले दानव मुरलाई आक्रमण गरी भष्म गरिन् । विष्णु निन्द्राबाट ब्युँझिदा आफ्नो अगाडि दानव मुरको मृत शरीर सहित ती कन्यालाई देख्नुभयो । कन्याले उक्त दैत्यको वध आफूले गरेको कुरा सुनाएपछि यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले ति कन्याको नाम एकादशी राखिदिनु भयो । कन्याले आफ्नो मनोकांक्षा पनि पुरा भएको बताइन् । भगवान विष्णुको वरदानले परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन् । त्यहि भएर यसै दिन एकादशीको नामाकरण भएका कारण एकादशी ब्रत प्रारम्भको सवैभन्दा समूचित दिन मानिएको हो । एकादशीको ब्रत उपवास गर्नाले वैकुण्ठ बास हुने पौराणिक विश्वास रहेको छ । एकादशीको माहात्म्य वयान सुन्नाले मात्र पनि सहश्र गोदानफल प्राप्त हुने धार्मिक विश्वास छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.