खोकी चल्छ हरेक राती, बा भनी राख्नु हुन्छ ।।
सारै दुख्छ अचेल छाती, बा भनी राख्नु हुन्छ ।।
आशाम् पुगें, भोट डुलें, बंगाल र काश्मिर टेकें ।
लाग्यो आफ्नै जमिन जाती, बा भनी राख्नु हुन्छ ।।
सात देखें, सत्र भोगें, छयालिस र त्रीसठ् हेरें ।
अगुवै पाएँ बिश्वासघाती, बा भनी राख्नु हुन्छ ।।
जति सक्यौं-गर्यौं हाम्ले, बाँकी तेरै काँधमा छ ।
हिम्मत गरेस् अब नाति, बा भनी राख्नु हुन्छ ।।
हरेक पलमा होस गरेस्, होस गरेस्, होस गरेस् ।
मान्छे हुन्छन् खुरापाती, बा भनी राख्नु हुन्छ ।।
सुन्दर भट्ट, बेलबारी, मोरङ
हाल: सरस्वती उ. मा.बि.,
अर्खौले, खोटङ
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: