सात बर्ष भो भाईटिकामा मैले टिका लाईन दिदी ।
छाती पिटि नरोए है यो साल नि आईन दिदी ।।
पर्ब आउँदा हत्तारिंदै कुद्थें दिदी तिम्लाई लिन ।
तीज, दशैं, तिहार, माघी कुन पर्बमा धाईन दिदी ।।
कम्मरैमा मादल बोकि देउँसि भैलो खेल्दै हिड्थें ।
घर छोडेसि मारूनि नाच सोरठी गीत गाईन दिदी ।।
लहलह धानका बाला झुलेहोला गैरी खेतमा ।
झालेमाले गोरूसँगै मैले पराल दाईन दिदी ।।
तेलको कराई झ्वाँई पारि सेलरोटिको ढेडि लाउँथें ।
सेलको साटो निस्तै खब्बुस कुन छाकमा खाईन दिदी ।।
मुदिर आना रो बेलायत भन्दा लेस रो भन्दै थर्काउँछ ।
माईरो भन्दै टार्छ सँधै मैले छुट्टि पाईन दिदी ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: