जिन्दगी यो प्रेम रथ हो साथ मिल्दा चल्न सक्छ
सूर्य जस्तै बन्छु भन्दा देह आफ्नै जल्न सक्छ
एकतामा हुन्छ तागत जोड राम्रो संगठनको
हेर एक्लो जिन्दगीमा खास कम्ती खल्न सक्छ
कर्म जस्तो हुन्छ हाम्रो मिल्छ फल उस्तै धरामा
गर्नु पौरख हौसलाले बीज सुन्दर फल्न सक्छ
प्रेम यस्तो प्रेरणा हो गर्छ चर्चा खास मान्छे
रोग मात्रै हेर होइन प्राण सङ्कट टल्न सक्छ
रङ्ग भर्दै साथ बाचौँ जिन्दगीको अर्थ खोज्दै
आज भन्दा भोलि भन्दा यो जवानी ढल्न सक्छ।
Liked by: