मानिस सुतिरहेको बेला देखिने तस्बिर, विचार तथा भावनाहरूलाई सपना भनिन्छ । सपनाहरूको श्रोत विभिन्न किसिमको हुन सक्छ । जस्तै हाम्रो दिमागमा आउने विचार, जीवनमा घटेका कुनै घटना या कुनै विषयवस्तु । ज्योतिष शास्त्र अनुसार कुरा गर्ने हो भने, हामीले देख्ने हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । केही हाम्रो अघिल्लो जीवनको घटनाहरूसँग जोडिएको हुन सक्छ भने केही हाम्रो वर्तमान परिस्थितिसँग । तर केहि भने हाम्रो भविष्यमा हुन सक्ने कुराहरूसँग सम्बन्धित हुन सक्छ । विज्ञ ज्योतिषहरूका अनुसार हरेक सपनाको आआफ्नै ज्योतिषीय महत्व हुन्छ । आउनुहोस् यस विषयमा विस्तृत रूपमा जानौँ ।
सपनामा मानिसको मृत्यु भए के हुन्छ?
यदि सपनामा हामीले हाम्रो नजिकको मानिस वा हामीले चिनेको कोहि व्यक्तिको मृत्यु भएको देख्याैँ भने हामीलाई मानिसको मृत्यु वास्तवमै हुन्छ कि भन्ने डर हुन सक्छ तर ज्योतिष शास्त्र अनुसार सपनामा मृत्यु भएको व्यक्तिको आयु बढ्ने मानिन्छ ।
सपनामा आफूलाई देख्दा के हुन्छ?
सपनामा आफूलाई विभिन्न परिस्थितिमा देख्नुले विभिन्न सङ्केत गर्दछ ।
आफ्नो मृत्यु भएको देख्नु :-
सपनामा आफ्नो मृत्यु भएको देख्दा तपाईं बिरामी हुने वा जीवनमा केही नराम्रो घटना हुने जनाउँछ । यसको मतलब आगामी दिनमा तपाईंलाई केही खतरा हुन सक्ने सम्भावना रहन्छ ।
आफू खस्नु वा झरेको देख्नु :-
यदि सपनामा तपाईं आफूलाई खसेको वा झरेको देख्नु हुन्छ भने त्यसले तपाईंको जीवनमा नियन्त्रण गुमाएको कुरालाई जनाउँछ । साथै, यसले तपाईंको जीवन चिन्ता वा निराशावादी चरणमा रहेको भनेर सङ्केत गर्न सक्छ ।
कसैले पछ्याइरहेको :-
यदि सपनामा कसैले तपाईंको पीछा गरिरहको महसुस गर्नुभएको छ भने, यसले तपाईंको जीवनमा समस्याहरू रहेको र ती समस्याहरू पत्ता लगाउन आवश्यक छ भनेर जनाउँछ ।
ढिलो गतिमा हिँडेको: -
सपनामा तपाईं ढिला हिडेको देख्नुभएको छ भने, तपाईंको जीवनमा खतरा आइपर्ने र त्यसबाट सजिलै उम्कन नसक्ने सङ्केत गर्दछ । साथै, तपाईंले आफ्नो जीवनमा प्रगति गर्नका लागि धेरै नै मेहेनत गर्नु पर्ने र मेहेनत गर्दा गर्दै पनि सोचेको सफलता हासिल गर्न अप्ठ्यारो पर्ने जनाउँछ ।
शोकमा हुनु : -
यदि तपाईं आफैलाई शोकमा देख्नुभयो भने, यसको मतलब तपाईं बिगतका कुराहरू धेरै प्रयास गर्दा पनि बिर्सन सकिरहनु भएको छैन ।
कसैलाई भूतको रूपमा देख्दा के हुन्छ?
सपनामा कोही अन्जान, भूतप्रेत वा डर लाग्दो व्यक्तिलाई देख्नु राम्रो र खराब दुवै हुन सक्छ । यदि सपनामा तपाईंले अँध्यारो दृश्यसँगै कोही अन्जान व्यक्ति वा नकरात्मक उर्जा देख्नु हुन्छ भने ज्योतिष शास्त्र अनुसार तपाईंको जीवनमा गलत समय वा अप्ठ्यारो परिस्थिति चलिरहेको छ भन्ने बुझिन्छ । त्यसै गरी सपनामा उज्यालो किरणसँग कोही व्यक्ति भएको महसुस गर्नुहुन्छ भने तपाईंको जीवनमा राम्रो हुने सङ्केतको रूपमा लिइन्छ ।
दाँत झरेको देख्नु:
सपनामा दाँत झरेको देखिएमा तपाईंको खाद्यान्नको श्रोतमा कमी आउन सक्छ वा तपाईंको खाद्य स्रोतहरूमा केही अनिष्ट हुनेवाला छ भनेर जनाउछ ।
जीवजन्तु देखिनु:
सामान्यतया ज्योतिष शास्त्र अनुसार फरक फरक जीवजन्तु देखिनुको फरक फरक अर्थ हुन्छ ।
कुकुर
सपनामा कुकुर देख्नुको धेरै अर्थ हुन सक्छ, केही राम्रो हुन्छ भने केहीलाई अशुभ मानिन्छ । यदि सपनामा तपाईंलाई कुकुरले टोकेको देख्नु भयो भने बुझ्नुहोस् कि तपाईंले तपाईंको प्रिय मानिसबाट धोका पाइरहनु भएको छ वा तपाईंको जीवन साथी अरु कोही सँग अनैतिक सम्बन्धमा हुनुहुन्छ । त्यसै गरि यदि तपाईंलाई सपनामा कुकुरले पछ्याउँदै गरेको देख्नुभयो भने तपाईंले चाहेको व्यक्तिले पनि तपाईंलाई गहिरो प्रेम छन् भन्ने हुन्छ ।
सर्प
ज्योतिष शास्त्र अनुसार सपनामा सर्प देखिनुको अर्थ र महत्व फरक छ । हिन्दु धर्ममा सर्पलाई धार्मिक प्राणी मानियता पनि केही मानिसहरू सपनामा सर्प देख्नु अशुभ मान्ने गर्दछन् । साथसाथै केही मानिसहरू यो पनि भन्छन् कि सपनामा सर्प देख्नु धेरै राम्रो हुन्छ । मानिसले सपनामा बारम्बार सर्प देख्नुको अर्थ व्यक्ति पितृदोषबाट पीडित छ र यसको निधान गर्ने उपाय गर्नुपर्छ भन्ने हुन्छ । यसबाहेक सपनामा सर्प देख्नु व्यक्तिको लागि शुभ संकेत पनि हो । सपनामा सर्प देख्दा धन, सुस्वास्थ्य लगायत इच्छाइएको मनोकामना पूरा हुने संकेत पनि गर्छ ।
ज्योतिष शास्त्र अनुसार, सपनाका विभिन्न सङ्केत हुन्छन, सपनासँग सम्बन्धित कुनै पनि जिज्ञासाका लागि हाम्रो पात्रो मार्फत विज्ञ ज्योतिषसँग परामर्श लिनुहोस् l
Liked by: