हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ । ठीक त्यसैगरि समयको सङ्केतलाई जानेर काम गर्नुपर्छ । धान रोप्ने बेलामा गहुँ छरेर कहिल्यै फल्दैन । हरेक कामका लागि समय निर्धारित हुन्छ । समय चिन्नु ठूलो कुरा हो । सबै खाले सुख या दुःखको कारण समय नै हो । उचित समयमा उचित प्रवृत्तिले सुख उत्पादन गर्छ भने त्यसको विपरीत गएमा दुःख हुनेगर्छ । प्रकृतिको व्यवस्था अनुसार भिन्नभिन्न राशि वा नक्षत्रका व्यक्तिलाई भिन्नभिन्न समयमा अलग अलग सुख या दुःख हुने गर्दछ । हरेक व्यक्तिका जन्म समय र जन्मस्थान भिन्न भिन्न हुने भएकाले सबैको चिना कुण्डली पनि भिन्न भिन्न नै हुनेगर्छ । त्यसैले हरेक महत्त्वपूर्ण काम गर्नु अघि त्यो काम फाप्छ कि फाप्दैन अथवा यो समयमा सुरु गरेमा सफल हुन्छ कि हुँदैन भन्ने कुरा ठम्याउन चिना कुण्डली हेर्नु हेराउनु आवश्यक छ ।
चिना कुण्डली पनि कतिपटक देखाउने भन्ने खालका जिज्ञासा हुन पनि सक्छन् । वेदका आँखा मानिएको ज्योतिष शास्त्रमात्रै एउटा यस्तो शास्त्र हो जसले विवाह मुहूर्त, गर्भाधान मुहूर्त, प्रसव मुहूर्त, नामकरण, अन्नप्राशन, विद्यारम्भ, व्यवसाय आदि हरेक महत्त्वपूर्ण कामका लागि शुभ समयको जानकारी दिनेगर्छ । यी र यस्तै अनेक शुभ समय जान्न चिना कुण्डली हराइरहनु पर्छ । आजका नयाँ पुस्ताले यो विषयमा पर्याप्त ध्यान नदिएको पाइन्छ जसले गर्दा उनीहरूको जीवन अस्थिर एवं दुःखद् बन्दै गइरहेको छ । गोचर अर्थात् वर्तमान समयमा कुन कुन ग्रह कहाँ छन् र त्यसले कुन पक्षमा शुभ या अशुभ असर गर्छ भन्ने विचार गर्न र बुझ्नुपर्ने हुन्छ । पञ्चाङ्ग निर्णायक समितिद्वारा अनुमोदित पञ्चाङ्ग ( पात्रो ) मा ग्रह गोचरको स्थिति बताइएको हुन्छ । आजभोलि त गुगलमा पनि यी सामग्री भेटिन्छ तर आफ्नो कुण्डलीसँग मिलाएर बुझ्न बुझाउन ज्योतिषीकै परामर्श लिनुपर्छ।
हाम्रो जन्म समय अनुसार भिन्न भिन्न ग्रहका दशा अर्थात् कार्यकाल चलिरहेका हुन्छन । त्यसभित्र पनि महादशा अन्तर्दशा प्रत्यंतर्दशा आदि विभाग हुने गर्छन । प्रायः अधिकांश मात्रामा अन्तर्दशामा तत्तत् ग्रहका फलहरू फलित हुने गर्दछन् । प्रायः हरेक वर्ष ग्रहका दशा अन्तर्दशा बदलिन्छन् । चिना कुण्डली देखाइरहनु भएमा कुन ग्रहको दशा वा अन्तर्दशा चलिरहेको छ र त्यसले हाम्रो जीवनका कुन कुन पक्षमा राम्रो या नराम्रो प्रभाव पार्दै छ भन्ने थाहा हुन्छ । राम्रो प्रभाव हुने भए त्यसैमा जोर लगाउन र बढी फाइदा लिन सकिन्छ र नराम्रो प्रभाव बढने भएमा तत्तत् क्षेत्रमा गतिविधि घटाउने या ती कामहरू नगर्ने अथवा ग्रहशान्ति आदि अनेक उपाय गरेर क्षति कम गर्न या जोगिन सकिन्छ ।
प्रतिपल समय परिवर्तन भइरहेको छ । हामी स्वयंले नै ती सबै विषयलाई स्पस्ट बुझ्न सके सर्वोत्तम हुन्छ । तर दुःखको कुरा के भने सबैले ज्योतिष विषय जानेको हुँदैन । त्यसैले ज्योतिषीको परामर्श लिइरहनुपर्छ । कतिपयका लागि जीवनमा दुइ चारपटक मात्र चिना कुण्डली हेरे हेराए पुग्छ भने कतिपयका लागि भने वर्षेपिच्छे हेर्नु हेराउनु जरुरी हुन्छ । अझ स्पस्ट भन्नुपर्दा जसले ज्योतिषको भाषा ( प्रकृतिको भाषा ) लाई राम्ररी बुझेर व्यवहार गर्छ उसले जीवनमा बढी लाभ लिन र क्षतिबाट जोगिन सक्छ । यसै ध्रुवसत्यलाई अङ्गीकार गरेर नै त हाम्रा बाउ बाजेले निरन्तर रूपमा ज्योतिषीय परामर्श लिँदै आएको गौरवपूर्ण लामो परम्परा आज पनि जीवित छ ।
चिना कुण्डली हेर्दा हेराउँदा जुन ज्योतिषीले बढी भन्दा बढी विषयमा मिलाउन या बोलेको पुर्याउन सक्छन् उनैसँग परामर्श लिइरहनुपर्छ । यदि कुनै ज्योतिषीले भनेका कुरा पुगेन या मिलेन भने अर्कों ज्योतिषीसँग हेराउनुपर्छ । समग्रमा भन्नुपर्दा ज्योतिषी भनेका जीवनमा सफलता र असफलता देखाइदिने दिव्यदृष्टि सम्पन्न मित्र हुन । उनीहरू बलियो मित्रता गर्नुस् र आफ्नो सम्पूर्ण वस्तुस्थिति जान्नुहोस् । समय समयमा चिना कुण्डलीको माध्यमले आफ़ना राम्रा नराम्रा पक्षलाई बुझेर अघि बढ्नुहोस् । हाम्रा प्रयोगकर्ताहरूको सेवा समृद्धि सुख शान्ति नै हाम्रो उद्देश्य भएकाले बारम्बार ज्योतिष सेवाद्वारा निर्दिष्ट हुँदै प्रगतिपथमा अघि बढन अनुरोध गर्दँछौँ । हरिॐ तत्सत् ।
- आचार्य चूडामणि पाठक
लेखकले "अध्यात्म विज्ञान" पुस्तक प्रकाशित गर्नु भएको छ (available on Amazon) । उहाँ वैदिक ज्ञानलाई विज्ञान सरह प्रस्तुत गर्न रुचाउनु हुन्छ। आचार्य चूडामणि पाठकसँग ज्योतिषीय परामर्श लिनको लागि नेपाली समय बेलुका ९ बजे देखि १२ बजे सम्म हाम्रो ज्योतिष सेवामा आउनु होला |
Liked by: