वृष संक्रान्ति
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।
के हो वृष सङ्क्रान्ति ?
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।
अन्तर्राष्ट्रिय परिवार दिवस
अन्तर्राष्ट्रिय परिवार दिवस कहिलेबाट मनाउन थालियो ?
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।
किन मनाइन्छ अन्तर्राष्ट्रिय परिवार दिवस ?
बिस्तारै विकासक्रमले संयूक्त परिवारलाई क्रमशः एकल परिवारमा रुपान्तरण र प्रतिस्थापित गरेको भएतापनि परिवारको स्वरुप जेजस्तो होस् तर पारिवारीक मुल्य मान्यता भने आँउदो पुस्ताकालागी अत्यन्त जरुरी पाठ हो । प्रारम्भीक वाल्यकाल शिक्षा र वालवालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाईन्छ ।
आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ ।
परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ ।
सन् २०२५ को नारा
Family-Oriented Policies for Sustainable Development
परिवार केन्द्रित निति र दिगो बिकासका लक्ष्यहरु भन्ने अर्थ लाग्दछ ।
नेपाली परिवार
नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना , विश्व परिवार दिवसको
-सुयोग ढकाल
Liked by: