विश्व रक्तदाता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व रक्तदाता दिवस




विश्व रक्तदाता दिवस विशेष अडियो सामाग्री

एउटा सत्यकथा वाट आज शुरु गर्न जाँदैछौ हाम्रो आलेख ।
दुईपाँग्रे दुर्घटनामा घाईते भएकी स्मृती को आन्तरिक रक्तश्राव भई तत्कालै अपरेशन गर्नकालागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकैफेर ५ पिन्ट रगत पाउन मुश्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका माध्यमवाट रक्तदाताहरु बोलाएर रगत पूर्ति गरियो र आज स्मृती स्वास्थ्यलाभ गर्दैछिन । यसरी रगत समयमै पूर्ती हुननसक्ने भए धेरैजनाको ज्यान जोखिममा पर्दछ । रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाईने दान हो र आउनुहोस आज यही पुण्य कमाउने विषयमा कुरा गरौ । स्मरण रहोस हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रुपमा मनाईने चलन छ । स्मृतीलाई जस्तै अन्य थुप्रै मान्छेहरुलाई आवश्यक पर्दा रगत को स्वयमसेवी दान गरेर रक्तदाताहरुले मानवतालाई एउटा नयाँ उचाई दिईरहेका छन् , हाम्रो पात्रो आज ती तमाम रक्तदाताहरुलाई एकमुष्ठ सलाम गर्दछ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि योदिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमारक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका र्याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजनागरिंदै आएको छ । रगतको महत्व बुझाउदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन योदिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपुर्ति गर्नेरक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समुह अनुसारका मेल खाने समुहहरुका रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै सक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरुलाई उनिहरुको मेडिकल इतिहास र स्वास्थ्यका वारेमा जानकारी लिइन्छ ।

सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकीएको छ । यसता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् ।

रक्तदान नै जीवनदान हो । केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरुमा आवश्यक कुराहरु पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो । दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ । स्मरण गरौ कि आजको विश्वमा हामीहरु मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरु सबैजना दुर्घटना वा रोगको शिकार हुनसक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्नसक्दछ ।

हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ ।
रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरु वास्तवमै भगवान प्रतिरुपहरु हुन् ।

नेपालमा पनि पछिल्ला समयमा रक्तदानकालागी स्वयम सेवी सँस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन् । आज हाम्रो पात्रो ति सबै सँस्था र सञ्जालहरुलाई पनि संझना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै सस्था अनि सञ्जालहरुको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारीफयोग्य छ । हामीमध्य केही सुई सँग डराउने या घोच्नपर्ने भएकाले रक्तदान गर्न डराँउदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र ?

तपाईको आफ्नै भाई या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहीएमा के तपाई रक्तदान नगरि बस्नुहुन्छ ? त्यस्तै धेरै दाजुभाई दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यक्ता परिरहेको हुन्छ, रक्तदाताहरु वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौ ।रगत अभाव मुक्त नेपाल बनाउन सबैजना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामीसबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?
के रक्तदान गर्नुभएको छ त ? जय होस्

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.