आज सौर्यमानक पात्रो अर्थात् मिति अनुसार नेपाल संवत्को यंला महिना २० गते हो । आजको मितिमा मन्त्रीपरिषद्ले नेपाल भाषा सम्बन्धी एक ऐतिहासिक निर्णय गरेको थियो । यस निर्णयको मिति नेपाल संवत् १११५ यंला २० गते थियो । विक्रम संवत् अनुसार भने यस निर्णयको मिति २०५२ भदौ २२ गते रहेको पाइन्छ । आज मिति नेपाल संवत् ११४३ यंला २० गतेले यो निर्णय भएको अठाइस (२८) वर्ष भएको छ । मन्त्रीपरिषद्को २०५२/०५/२२ को च.नं. ३५६/०५२ को निर्णानुसार "नेवारी भाषा" शब्दको सट्टामा "नेपाल भाषा" शब्द प्रयोग गर्ने निर्णय भएको थियो ।
२०५२ सालमा मन्त्रीपरिषद्ले गरेको निर्णयले "नेवारी भाषा"लाई नयाँ नाम दिएको होइन, बरू त्यस भाषाको पुरानो नामलाई नै पुनःसंस्थागत गरेको हो । पञ्चायत काल पछी मात्र "नेपाल भाषा" लाई "नेवारी भाषा" भन्ने नामले पुकार्न थालिएको हो । अनुमानित सोही ताका देखि "नेपाल उपत्यका"लाई "काठमाडौँ उपत्यका" भन्न थालिएको छ । ज्येष्ठ नागरिकहरूमा अझै पनि "काठमाडौँ जाने" नभएर "नेपाल जाने" भन्ने भनाई प्रचलित छ । ऐतिहासिक ग्रन्थपुस्तकहरूमा पनि "नेपाल खाल्डो", "नेपाल उपत्यका" वा "नेपाल भ्याली" भनि सम्बोधन गरिएको पाइन्छ । नेवाः समुदाय आजसम्म पनि "नेपाः गाः" भनि उपत्यकालाई सम्बोधन गर्ने प्रचलन यथावतै छ ।
मन्त्रीपरिषद्को उक्त निर्णयको प्रतिलिपि राष्ट्रिय सूचना आयोगमा दायर भएको रुक्शना कपाली वि. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको मुद्दा (२०७७ सालको पुनरावेदन नं ४२२) मार्फत् झिकाइएको हो ।
Liked by: